नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

२२ औं वन्यजन्तु सप्ताह २०७४ भब्यताका साथ सम्पन्न

वन्यजन्तु र जैविक विविधताको महत्व, आवश्यकता र संरक्षणको बारेमा जनचेतना अभिबृद्धि गर्ने, सचेतना जगाउने तथा मानव, वन्यजन्तु र प्रकृति बीच सहअस्तित्व कायम राख्ने उद्देश्यले युवा अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चिता भन्ने नाराका साथ २२ औं वन्यजन्तु सप्ताह २०७४ भब्यताका साथ मनाइयो । वैशाख १ गते देखि ७ गतेसम्म चरा अवलोकन, चित्रकला प्रतियोगिता, कविता प्रतियोगिता, साइटिसको कार्यान्वयन सम्बन्धी अन्तरक्रिया,  वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया र संरक्षण र्‍याली कार्यक्रमहरु गरिएका थिए ।
२२ औं वन्यजन्तु सप्ताह २०७४ को अन्तिम दिन वैशाख ७ गते विहिबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राङ्गणमा आयोजना गरिएको समापन समारोह, प्रमुख अतिथि माननीय वन तथा भू संरक्षण राज्यमन्त्री दीर्घराज भाटले  गमलामा रहेको वर पिपलको विरुवमा जल सिंचन गरेर उट्घाटन गर्नु भयो । समापन समारोहमा वन तथा भू संरक्षण राज्यमन्त्री भाटले वन जंगल नै सबै प्राणीले बाच्ने आधार भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो । राज्यका ठूला पूर्वाधार निर्माण गर्ने देखि विभिन्न सामाजिक संस्थाले संरचना बनाउँदा वन जंगलको क्षेत्रमाथि दबाब बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै राज्यमन्त्री भाटले जैविक विविधता संरक्षणका लागि सचेतना कार्यक्रम सहरमा मात्र नभई ग्रामिणस्तरसम्म पुर्याउन आवश्यक रहेको बताए । कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले वन्यजन्तु संरक्षणका बारेमा विद्यालयस्तरदेखि नै सबैलाई सचेत गराउनुपर्ने बताउदै संरक्षणका कार्यमा युवाको भूमिका अझ बढी महत्वपूर्ण हुनेमा जोड दिनुभयो । वन तथा भू संरक्षण मन्त्रालयका सचिव श्री प्रकाश माथेमाले वन्यजन्तु संरक्षणका लागि सप्ताह व्यापी सचेतनामुखी कार्यक्रम प्रभावकारी देखिएको बताउदै मानव वन्यजन्तु द्धन्द न्यूनिकरणमा जोड दिनु भयो । उक्त कार्यक्रममा पूर्व सचिवहरुको तर्फबाट डा. स्वयम्भुमान अमात्य, महानिर्देशकज्यूहरुको तर्फबाट भू तथा जलाधार विभागका महानिर्देशक श्री विजयराज पौडेल, संरक्षण साझेदार संस्थाहरुको तर्फबााट राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव श्री गोविन्द गजुरेल र मिस नेपालका तर्फबाट रोशनी खड्कीले वन्यजन्तु संरक्षणको महत्व माथि मन्तब्य राख्नु भएको थियो । कार्यक्रम अध्यक्ष एवं राष्ट्रिय निकुञ्ज तथा  वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काले वन्यजन्तु संरक्षणमा युवाको भूमिका माथि विशेष जोड दिदै विभागले स्थानीयस्तरमा जनतासँग मिलेर जैविक विविधता संरक्षणका कार्य गरिहेको जानकारी दिनु भयो, साथै समापन समारोहमा उपस्थित प्रमुख अतिथि लगायत सबैलाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । समापन समारोहमा स्वागत मन्तब्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री शेरसिंह ठगुन्नाले गर्नु भएको थियो भने विभागका उपसचिव (प्रा.) श्री विष्णु प्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
२२ औं वन्यजन्तु सप्ताहको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सचिव श्री प्रकाश माथेमा र निवन्ध प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले पुरस्कार वितरण गुर्नभयो । यसै गरी वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई माननीय वन तथा भू संरक्षण राज्यमन्त्री भाटले दोसल्ला ओढाइ सम्मान पत्र वितरण गर्नुभयो । सप्ताहको अन्तिम दिन आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थीहरु, संरक्षण अभियानमा संलग्न विभिन्न सरकारी निकाय र संघसंस्थाका प्रतिनिधिहरुबाट संरक्षण र्‍याली गरिएको थियो ।