नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

विश्व बाघ दिवस (Global Tiger Day, 29 July) भव्यताका साथ सम्पन्न

वन तथा भू संरक्षण मन्त्रालयका सचिव श्री प्रकाश माथेमाको प्रमुख आतिथ्यमा “स्वस्थ पर्यावरणको लागि बाघको संरक्षण” भन्ने मूल नाराका साथ विश्व बाघ दिवस २९ जुलाई २०१७ तदनुसार १४ साउन २०७४ गते बाघको संरक्षणमा व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रीयस्तरमा राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटारको सभाहलमा नेपालमा बाघको संरक्षण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइयो । कार्यक्रमका प्रमुख अतिथि, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव श्री प्रकाश माथेमाले वन परिसर बबरमहलमा राखिएको बाघको महत्व देखिने होर्डिङ्ग बोर्डको अनावरण गर्नुभएको थियो । नेपालमा बाघको संरक्षण सम्बन्धी विषयमा वन तथा भू संरक्षण मन्त्रालय, जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख, सहसचिव (प्रा.) डा. महेश्वर ढकालले प्रस्तुती गर्नुभयो । प्रस्तुतीकरण पश्चात वन विभागका महानिर्देशक श्री कृष्ण प्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रमेश श्रेष्ठ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक श्री श्याम बजिमय र शुक्लाफाँटा रा.नि. मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्री पुष्कर सिंहबाट बाघको इकोलोजी तथा बासस्थापन, अवैध चोरीशिकार तथा व्यापार नियन्त्रण, संरक्षणका नीतिहरु, संरक्षणमा स्थानीय समुदायको सहभागिता, मानव–बाघ द्वन्द न्यूनीकरण, बाघ संरक्षणमा अबको बाटो लगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सचिव श्री प्रकाश माथेमाले बाघ पारिस्थितिकीय प्रणालीको उच्च तहमा रहेको प्रजाति भएकोले बाघको संरक्षण गरिएमा बाघ पाइने क्षेत्रमा समग्र वन, वनस्पति र अन्य वन्यजन्तु समेत संरक्षण हुने बताउनु भयो । वन नीति २०७१, जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४), बाघ संरक्षण कार्य योजना (२०१६) अनुसार कार्यक्रम सम्पन्न गर्न सबै सम्वद्ध पक्षहरुले सहकार्य गर्नुपर्नेमा जोड दिनु भयो । बाघको संख्या बृद्धि सँगै मानव–बाघ द्वन्दका घटनाहरु बढ्दै गएको सन्दर्भमा द्वन्द नै नहुने स्थिति सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल सरकारका पूर्व सचिव डा. स्वयम्भुमान अमात्य, संरक्षण साझेदार संस्थाहरुको तर्फबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव श्री गोविन्द गजुरेलले बाघ संरक्षणको विविध पक्षहरुबारे मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक श्री गोपाल प्रकाश भट्टराईले नेपालले सन् २०२२ सम्ममा २५० वटा बाघको संख्या पुर्याउन राखेको लक्ष्य अनुरुप कटिबद्ध रही कार्य गर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरु, बाघको संरक्षणमा प्रत्यक्ष तथा परोक्ष रुपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कर्मचारीहरु, शिक्षक तथा विद्यार्थीहरु, संरक्षण कर्मीहरु, पत्राकारहरु सहित ४५० जनाको उपस्थिति रहेको थियो ।