नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १-७), २०७४ को अवसरमा माननीय वन तथा भू-संरक्षण मन्त्री शंकर भण्डारीले दिनु भएको सन्देश

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु,

सर्व–प्रथम नववर्ष २०७४ को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु प्रति सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछु । वन्यजन्तु एवं जैविक विविधता संरक्षणको महत्व र मूल्यबारे जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले “युवाको अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चितता” भन्ने नाराका साथ विभिन्न कार्यक्रम सहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मनाउन लागिरहेको २२ औं वन्यजन्तु सप्ताहको पूर्ण सफलताको कामना गर्दछु ।

नेपाल क्षेत्रफलको हिसाबले सानो देश भएतापनि वन, वन्यजन्तु, वनस्पति एवं अन्य जैविक विविधतामा धनी छ । नेपालमा पाइने एक सिंगे  गैडा, बाघ, हात्ती, अर्ना, घडियाल गोही देखि  रेड पाण्डा, कस्तुरी मृग, हिउँचितुवा, डाँफे, मुनाल आदी वन्यजन्तुहरु नेपालका गहना हुन् । वन्यजन्तु संरक्षणमा नेपालले विगत लामो समयदेखि नै सक्रिय रुपमा प्रयास गर्दै आएको व्यहोरा सर्वविदितै छ । स्थानीय एवं मौलिक रुपमा शताब्दी पहिलेदेखि नै शुरु भई सन् १९६० को दशकमा गैंडा गस्ती मार्फत औपचारिक रुपमा प्रवेश गरेको संरक्षण अभियानमा सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना कोषेढुङ्गा सावित भएको छ । हाल नेपालमा ११ वटा राष्ट्रिय निकुञ्ज, २ वटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष, र ६ वटा संरक्षण क्षेत्र रहेका छन् भने १३ वटा संरक्षित क्षेत्रहरुमा मध्यवर्ती क्षेत्र समेत स्थापना भै सकेका छन् । यी संरक्षित क्षेत्रहरुले नेपालको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भू भाग ओगटेको छ ।

संरक्षित क्षेत्रबाट स्थानीय बासिन्दालाई बढीभन्दा बढी लाभको समन्यायिक वितरण गर्न, संरक्षणमा स्थानीय समुदायलाई अर्थपूर्ण सहभागी गराउन मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम मार्फत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशतसम्म स्थानीय जनताको सामुदायिक विकास; जैविक विविधता संरक्षण र आयआर्जन; रोजगारी सिर्जना गर्ने कार्यक्रमहरुमा खर्च हुदै आएको छ । मध्यवर्ती क्षेत्रमा सञ्चालन भएका संरक्षण कार्यक्रमहरुले स्थानीय समुदायहरुलाई संरक्षण कार्यमा सहभागी गराउन निकै सफल भएको मैले महशुुस गरेको छु ।

प्राकृतिक वासस्थानबाट लोप हुन लागेका गोही, गिद्ध, कृष्णसार जस्ता वन्यजन्तुहरुलाई परःस्थानीय संरक्षण मार्फत संरक्षण गरी पूनः प्राकृतिक वातवरणमा छाड्ने, एउटा स्थानमा मात्र खुम्चिएर रहेका गैंडा, अर्ना, बाह्रसिंङ्के, कृष्णसारलाई स्थानान्तरण मार्फत उस्तै प्राकृतिक बासस्थान भएको स्थानमा वंश विस्तार गर्ने र भू–परिधि स्तरमा वन्यजन्तुको संरक्षण कार्य तथा वन्यजन्तुको चोरीशिकारमा आएको नियन्त्रण प्रयासले नेपालमा वन्यजन्तुको संरक्षण अन्तर्राष्ट्रियस्तरमा नै प्रंशसनीय विषय भएको सुन्न पाउँदा हामीलाई खुशी तुल्याएको छ । संरक्षणको क्षेत्रमा भएका विविध प्रयासहरुको परिणाम स्वरुप बाघ, गैंडा, बाह्रसिंगा, हिउँचितुवा, हाब्रे, घडियाल गोही जस्ता लोपोन्मुख एवं दुर्लभ वन्यजन्तुको संख्या बढ्नु समग्र नेपालीललाई थप खुशीको अनुभूति भएको छ । वन्यजन्तु र जैविक विविधता संरक्षणको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय समुदाय र संरक्षणका साझेदार संघ संस्थाहरु लगायत सम्पूर्ण महानुभावहरुलाई विषेश धन्यवाद दिन चाहन्छु ।

वन्यजन्तु एवं जैविक विविधता संरक्षणमा नेपालले गरेका प्रयासहरु अन्तर्राष्ट्रियस्तरमा समेत प्रशंसनीय छ । यति हुँदाहुदै पनि वन्यजन्तु र जैविक विविधता संरक्षण र व्यवस्थापन कार्यमा केही चुनौतिहरु सामना गर्नुपरेको छ । वन्यजन्तु बासस्थानको विनाश तथा क्षयीकरण, भौतिक पूर्वाधार निर्माण, वन्यजन्तुका अंगहरुको अवैध व्यापार, मिचाहा प्रजाति, जलवायु परिवर्तन, मानव वन्यजन्तु द्धन्द मूख्य चुनौतिको रुपमा रहेका छन् । संरक्षणमा लागेका जिम्मेवार, सरोकार पक्षहरुको संरक्षण प्रतिको दृढताबाट नै वन्यजन्तु एवं जैविक विविधता संरक्षण कार्य सम्भव देखिन्छ । संरक्षणमा देखिएका समस्या र चुनौतिहरुलाई क्रमशः न्यूनिकरण र निराकरण गर्दै वन्यजन्तु एवं जैविक विविधताको संरक्षण र दिगो व्यवस्थापन मार्फत स्थानीय समुदाय र समग्र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने दिशामा कार्यक्रम परिलक्षित गरी कार्यान्वयनमा कटिबद्ध रहन सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय एवं सम्बद्ध पक्षलाई म अनुरोध गर्दछु ।

अन्त्यमा, वन्यजन्तु र जैविक विविधताको संरक्षणका लागि सम्बन्धित सबै सरकारी निकाय, गैरसरकारी निकाय, दातृनिकाय, निजी क्षेत्र र स्थानीय समुदायलाई आ–आफ्नो स्थानबाट सक्रिय योगदान पुर्याउन अनुरोध गर्दै पूनः २२ औं वन्यजन्तु सप्ताह–२०७४ को सफलताको शुभकामना व्यक्त गर्दै नव वर्ष २०७४ सबैका लागि सकारात्मक बनोस, सबैमा सुखः शान्ति, संबृद्धि, सदाचार र सहकार्यको भावना बढोस भन्ने कामना गर्दछु ।

धन्यवाद !