नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

विश्व सिमसार दिवस २०१७ (२०७३)

"प्रकोप न्यूनिकरणका लागि सिमसार" (Wetlands for Disaster Risk Reduction) भन्ने नाराका साथ सिमसारको संरक्षण र व्यवस्थापनमा जनचासो र जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व सिमसार दिवस २ फेब्रुवरी २०१७ तदनुसार २० माघ २०७३ विविध कार्यक्रम गरी मनाइयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रम, प्रमुख अतिथि माननीय वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीज्यूले गमलामा रहेको पिपलको विरुवामा जल सिंचन गरेर कार्यक्रम उद्घाटन गर्नु भयो । प्रमुख अतिथि माननीय मन्त्रीज्यूले सिमसारको संरक्षण र व्यवस्थापन गरी प्रकोप/विपतजन्य जोखिमहरुलाई न्यूनिकरण गर्दै सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमतापूर्ण उपयोग गरी आमजनताको जीविकोपार्जनमा टेवा पुर्याउने दिशामा कार्यक्रम परिलक्षित गरी कार्यान्वयनमा कटिबद्ध रहनु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रमका विशेष अतिथि, वन तथा भू संरक्षण मन्त्रालयका सचिव श्री प्रकाश माथेमाज्यूले सिमसार क्षेत्र एउटा बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले यसको संरक्षण र समुचित व्यवस्थापनको लागि सम्बन्धित सबै निकायहरुले सक्रिय योगदान दिनुपर्ने जोड दिनु भयो । उक्त कार्यक्रममा पुर्व सचिवहरुको तर्फवाट डा. स्वयम्भुमान अमात्य, विभागीय प्रमुखहरुको तर्फबाट भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक श्री विजयराज पौडेल, पुर्व महानिर्देशकहरुको तर्फवाट श्री विश्वनाथ उपे्रती र संरक्षण साझेदार संस्थाको तर्फवाट गोविन्द गजुरेलज्यूले सिमसार क्षेत्रको महत्व माथि प्रकाश पार्नुभयो । कार्यक्रमका अध्यक्ष एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काज्यूले सिमसारको संरक्षण र व्यवस्थापनमा विभागले सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर आफ्नो अमुल्य समय दिनुभएकोमा प्रमुख अतिथि लगायत सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विश्व सिमसार दिवस २०७३ को अवसरमा प्रकोप/विपत  न्यूनीकरणका लागि सिमसार शीर्षकमा आयोजना गरिएको विद्यालय स्तरीय निवन्ध प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि माननीय मन्त्रीज्यूले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । साथै प्रमुख अतिथि माननीय मन्त्रीज्यूले नेपालमा डल्फिनको अवस्था र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका चराहरु पुस्तक विमोचन गर्नुका साथै दिवसको अवसरमा बबरमहल, वनपरिसरमा राखिएको सिमसारको महत्व झल्किने होर्डिङ वोर्डको अनावरण पनि गर्नुभयो । सिमसारको संरक्षणमा जनचासो बढाउने उद्देश्यका साथ उपत्यकाका विभिन्न विद्यालय र क्याम्पसका शिक्षक तथा विद्यार्थीहरु, सरकारी तथा गैरसरकारी निकायका कर्मचारीहरु र पत्राकारहरुको सहभागितामा बबरमहल वनपरिसर देखि माइतीघर मण्डला, बिजुलीबजार हुदै पूनः बबरमहल, वनपरिसरसम्म हरित  रयाली गरिएको थियो ।