नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

अन्नपूर्ण संरक्षण क्षेत्र

स्थापनाः २०४९ साल (सन् १९९२)

 क्षेत्रफलः ७,६२९ वर्ग कि.मि.


यो संरक्षण क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्रको कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको छ । यो नेपालको सबैभन्दा ठूलो (७६२९ वर्ग कि.मि.) र स्थानीय जनताको सहयोग लिई राष्ट्रिय प्रकृति संरक्षण कोषबाट व्यवस्थापन र प्रवद्र्धन गरिएको संरक्षण क्षेत्र हो ।

यसका मुख्य विशेषताहरूमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, धौलागिरी, मनाङ र मुस्ताङ उपत्यकाहरू, गुरुङ र थकाली संस्कृतिहरू, विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग (ट्रेकिंग रुट) आदि हुन् । यस संरक्षण क्षेत्रले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा पैदल यात्रा गर्न आउने विदेशी यात्रुहरूसामु अविस्मरणीय सुन्दर प्राकृतिक दृश्यहरू प्रस्तुत गरी नेपालको पर्यटन उद्योगलाई फस्टाउन ठूलो टेवा पुर्याएको छ । यो संरक्षण क्षेत्र हिउँ चितुवा, कस्तुरी मृग, चिरु, तिब्बतीय गधा, तिब्बतीय खरायो, नाउर जस्ता विभिन्न जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । मुक्तिनाथ र दामोदर कुण्ड जस्ता प्रख्यात धार्मिक क्षेत्र तथा लोमानथाङ जस्ता सांस्कृतिक धरोहर यहाँ अवस्थित छन् ।

नेपालको प्रमुख ट्रेकिङ्ग स्थलको रूपमा यस क्षेत्रको विकासले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुगेको छ । संरक्षण क्षेत्रको अवधारणा अनुरुप एकीकृत संरक्षण तथा सामुदायिक विकासका कार्यक्रमहरू संचालन गरी संरक्षणमा जनसहभागिता जुटाउने कार्यको नमूनाको रूपमा यस संरक्षण क्षेत्रलाई लिन सकिन्छ । पछिल्लो समयमा विकास सँगसँगै वन्यजन्तुको संरक्षण चुनौतीपूर्ण हुँदै गएको र वन पैदावार र जलविद्युतको अत्यधिक मागका कारण व्यवस्थापकीय पक्षमा धेरै खालका सवालहरू सृजना भएको छ ।


गुगल नक्शा