नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

अपी नम्पा संरक्षण क्षेत्र

स्थापनाः २०६७ साल (सन् २०१०) 

क्षेत्रफलः १,९०३ वर्ग कि.मि.


सदुर पश्चिमाञ्चल विकास क्षत्रेको दार्चुला जिल्लामा पर्ने अपि नाम्पा सरंक्षण क्षेत्रको पूर्वमा बझाङ जिल्ला, पश्चिममा महाकाली नदी उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेका छन् । नेपाल सरकारले २०६७ आषाढ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यस संरक्षण क्षेत्रको स्थापना गरेको हो । वातावरण सुधारमा उल्लेखनीय योगदान पु-याउने, प्राकृतिक स्रोत र जडीबुटीको संरक्षण तथा उपयोग गर्ने र पर्या–पर्यटन विकास गरी विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी क्षेत्रका २१ गा.वि.स. को समुच्च विकास गर्ने उद्देश्यले यस संरक्षण क्षेत्रको स्थापना गरिएको हो । २०६६ मंसिर १६ गते जलवायु परिवर्तनको सम्बन्धमा विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । सोही बैठकले यो संरक्षण क्षेत्रको घोषणा गरेको हो ।


अपि नाम्पा संरक्षण क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्तै महत्वपूर्ण र भरिपूर्ण छ । यस क्षेत्रमा अपि हिमाल (७,१३२ मि.), नाम्पा हिमाल (६,७५७ मि.), व्यास हिमाल (६,६७० मि.) लगायत धेरै उच्च हिम शिखरहरू छन् । यस संरक्षण क्षेत्रको उचाई समुद्री सतहबाट ५३९ देखि ७,१३२ मिटरसम्म छ । भारत महादेश (Indian Plate) को उत्तरी किनारा तिब्बत महादेश (Chinese Plate) संग ठोकिने क्रम अझै पनि जारी भएकोले यहाँका भू–भागहरू भिराला र गतिशील छन् । यहाँ सिस्ट, चुनढुंगा र सेडिमेण्ट जस्ता चट्टानहरू हुनाले वर्षातको समयमा पहिरो जाने प्रकृतिको भू–आकृति रहेको छ । यस क्षेत्रमा ग्रेनाइट , पेगमेटाइट , फाइलाइट  र क्वारजाइट  चटृानहरू पनि पाइन्छन् । यस क्षेत्रमा हिँउ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थार लगायतका वन्यजन्तहुरू पाइन्छन । यस्तै डाँफे , चीर, चिल, च्याखरु , हलसे , भ्याकुर लगायत २०० भन्दा बढी चराका प्रजातिहरू पाइन्छन् । साल, खयर, सिसौ, उत्तिस, बाँझ, गुराँस, गोब्रे सल्ला, कोलिनियल खस्रु लगायत विभिन्न किसिमका वनले यो संरक्षण क्षेत्र रमणीय बनेको छ |

 

 

गुगल नक्शा