नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित जीवहरु

उपलब्ध छैन

डाँफे (Lophophorus impejanus)

नेपालको राष्ट्रिय पन्छी डाँफे चरा ग्यालीफर्मीस अडरको फीजिनिडि परिवार भित्र पर्दछ । ग्रीष्ममा Alpine र sub-alpine क्षेत्रको घाँसले ढाकिएका अत्यन्त भिरालो चट्टानयुक्त भीरहरु र नजिकैको जङ्गलमा बस्न रुचाउने यो चरा हिउदमा बिशेषगरी हिमपातका बखत  होचो भुभागमा लालीगराँसको जङ्गलमा झर्दछ । साधारणतया हिमरेखा आसपासमा पाइने भएतापनि भोजपत्रको जंगल, गुँरासको घना वन, ओक तथा बाँझको वन, धुपी तथा सल्लाका वनहरु पनि यसको वासस्थान हो । यो प्रजाति polygamous हो । त्यसैले एक भन्दा बढी पोथीहरुको साथमा एउटा भाले देख्न सकिन्छ । यो चरा लज्जालु स्वभावको/डराउने खालको हुनाले नजिकै मानिस हिडेको आभास पाउने बित्तिकै एक प्रकारको क्लीह ... क्लीह ... क्लीह ... क्लीह ... आवाज निकाली उड्दछन् । यसको शक्तिशाली   चुच्चोले जमिनमा जराहरु तथा अन्यखानेकुराहरु खोस्रन्छ । कहिलेकाँही आधाघण्टाभन्दा बढी समयसम्म एकै ठाँउमा खोस्रिरहन्छ । बिहानीपख दर्जनौ डाँफेहरुले रुखको मुनी वा खुल्ला जमिनमा  खोस्रिरहेको देख्न सकिन्छ । जमिनमा पाइएका किरा फट्यांग्रा र तिनका लार्भाहरु तथा बिभिन्न वनस्पतिका जराहरु यसको मुख्य आहारा हो । साथमा घाँसका जराहरु तथा बीउहरु, भै काफल तथा ऐसेलुहरु र झ्याउ पनि खाने गर्दछ । 

बैशाख देखि असार महिनामा साधारणतया ढुङ्गयानको तलपट्टि जमिनमा नाममात्रको गुँडमा ४–६ वटासम्म (कहिलेकाँही २–३ वटामात्र पनि) फुल पार्दछन । गुँड अति नै साधारणखालको बुटयान वा चट्टानको ओतमा जमिन केही खोस्रिएर बनाएको वा कहिलेकाँहि ठूला रुखहरुको टोड्कामा पनि हुन सक्दछ । यो चराले साधारणतया २८ दिन  ओथारो बस्छ र कहिलेकाँहि यो अबधि घटबढ भै २६ देखि २९ दिन सम्मको हुन्छ । डाँफे पाकिस्तान, भारत, नेपाल, भुटान चीन र वर्माको रैथाने चरा हो ।  नेपालमा यो चरा ३३०० मिटर देखि ४७५० मिटर सम्मको उचाइमा र हिउदमा २५०० मिटरसम्म प्रायः ब्यापक फैलिएको आवासिय हो । नेपालको सबै हिमाली संरक्षित क्षेत्रहरु (मकालु बरुण, सगरमाथा, लाङटाङ, शे फोक्सण्डो, खप्तड र रारा राष्टिय निकञ्जहरु; ढोरपाटन शिकार आरक्ष; कञ्चनजंघा, गौरीशंकर, मनास्लु, अन्नपर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरु) मा  यो चरा पाइएको छ । हिउदको समयमा जब डाँफेचरा तल्लो क्षेत्रमा मानव वस्तीको नजिकमा झर्दछ, स्थानीय खानाको लागि मानिसहरुले पासो थाप्ने र शिकार गर्ने गर्दछन । बर्षायाम पस्चातको समय र वसन्त तथा ग्रीष्म ऋतुमा समेत शिकारीहरु र भेडागोठालाहरुले पासो थाप्ने र मार्ने गर्दछन । यसको प्वाँख बिभिन्न धार्मिक परम्परामा अत्यन्त महत्वका साथ प्रयोग हुने गरेको छ । विश्वमा यस चराको संख्या कति होला भनेर अनुमान गरिएको छैन तर  नेपालमा यसको संख्या ३५०० देखि ५००० सम्म अनुमान गरिएको छ । विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाइ खतराको सूची भन्दा बाहिर राखेको छ । तर क्षेत्रगत रुपमा यसको शिकार र ब्यापारको कारण संख्या घट्दै गएको देखिएकोले नेपालमा खतराको सूचीको नजिक पुगेको जनाएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पंछीको रुपमा अनुसूची १ मा सूचीकृत गरेको छ भने साइटिसले पनि अनुसूची १ मा नै समावेश गरेको छ ।

थप जानकारीका लागि:- Inskipp et al. 2016.

 Back