नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्रका कर्मचारीहरुका लागि लैंगिक सचेतना गोष्ठी सम्पन्न | संरक्षित क्षेत्रहरुको पूर्व योजना तर्जूमा गोष्ठी सम्पन्न

गौरीशंकर संरक्षण क्षेत्र

No image

स्थापनाः २०६६ साल (सन् २०१०)

क्षेत्रफलः २,१७९ वर्ग कि.मि.

नेपाल सरकारले २०६६ पुष २७ गते राजपत्रमा सूचना प्रकाशित गरी विधिवत घोषणा गरेको गौरीशंकर संरक्षण क्षेत्रको पूर्वमा सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । यस क्षेत्रको व्यवस्थापन सरकारले बीस वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सुम्पिएको छ ।

समुद्रको सतहदेखि ९६८ मिटरबाट ७,१८१ मिटर उँचाईसम्म रहेको यो संरक्षण क्षेत्र वन्यजन्तुका दृष्टिकोणले निकै महत्वपूर्ण छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेका, लोपोन्मुख अवस्थामा पुगेका हिँउ चितुवा, कस्तुरी मृग, हाब्रे, ब्वाँसो, ध्वाँसे चितुवा, सालक, चरी बाघ, डाँफे, मुनाल सहित यस संरक्षण क्षेत्रमा ३४ प्रजातिका स्तनधारी जनावर, ३७ परिवारका २३५ प्रजातिका पंक्षी, १६ प्रजातिका माछा, ९ प्रजातिका उभयचर र १४ प्रजातिका सरीसृपहरू पाइन्छन् ।

यहाँ ढुंगा र तामा खानीहरू पनि पाइन्छन् । गौरीशंकर संरक्षण क्षेत्र पर्यटकीय तथा जलस्रोतका दृष्टिले पनि विशेष महत्वपूर्ण मानिन्छ । गौरीशंकर हिमाललाई समेटेको यस संरक्षण क्षेत्रभित्र माथिल्लो तामाकोशी, भोटेकोशी, खिम्ती, सुनकोशी आदि नदीहरू पर्दछन् । च्छ्यो रोल्पा ताल, दूध पोखरी, पाँच पोखरी, जटा पोखरी, भैरव कुण्ड र बहुला पोखरी जस्ता प्रख्यात क्षेत्र पनि यसैभित्र पर्दछन् ।

यस क्षेत्रमा सिन्धुपाल्चोकका ६ वटा, दोलखाका १४ वटा र रामेछापका २ वटा गा.वि.स. पर्दछन् । यहाँ तामाङ्ग, शेर्पा, क्षेत्री, नेवार लगायत विभिन्न जात जातिका गरी करिव ५६,००० मानिसहरू बसोबास गर्दछन् । गौरीशंकर संरक्षण क्षेत्रमा प्राकृतिक वनको अवस्था राम्रो छ । यस क्षेत्रको ३४.९८ प्रतिशत भाग वनजङ्गल, ९.८ प्रतिशत भाग बुट्यान र ८.६१ प्रतिशत भाग घाँसे मैदान÷चरन क्षेत्रले ढाकेको छ । हाल यस संरक्षण क्षेत्रमा ७६ वटा सामुदायिक वन उपभोक्ता समूहहरूले २०,४७७ हेक्टर वनलाई सामुदायिक वनका रूपमा संरक्षण, व्यवस्थापन र सदुपयोग गर्दै आइरहेका छन् ।

गौरीशंकर संरक्षण क्षेत्रमा पाइने प्रमुख रुख प्रजातिहरू खोटे सल्लो, उत्तिस, कटसु , सारै , गाबेर सल्ला , तालिसपत्र, भाजे पत्र आदि हनु । यस क्षेत्रमा उपोष्णदेखि शीतोष्णसम्म गरी १६ प्रकारका वनहरू छन् जसमा ५६५ प्रजातिका वनस्पतिहरू अभिलेख गरिएको छ । यहाँ पाइने मुख्य गैरकाष्ठ वन पैदावारहरूमा चिराइतो, सुनाखरी, मजिठो, वन करेला, अल्लो, लोक्ता, अर्गेली, इन्द्रेणी, जटामसी, पाँच औंले, कुट्की, पदमचाल, बिषमा, झ्याउ, धुपी, सुनपाती आदि रहेका छन् ।

 

 

गूगल नक्शा