यो राष्ट्रिय निकुञ्ज समुद्री सतहबाट ४३५ मि. उँचाइदेखि ४० कि.मि. उत्तर दक्षिण दूरीभित्रै ८,४६३ मि. अग्लो विश्वको पाँचौं अग्लो हिमाल मकालु हिमशिखरसम्म फैलिएको छ । यसलाई बृहत् सगरमाथा पारिस्थितिकीय प्रणालीको एउटा महत्वपूर्ण अङ्ग मानिएको छ । यसको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्दछन् । यो निकुञ्ज Sacred Himalayan Landscape जैविक मार्गको हिसाबले पूर्वमा कंचनजंघा संरक्षण क्षेत्र र गुराँसको राजधानी मानिने मिल्के जलजले क्षेत्रसँग जोडिएको छ । अविश्वसनीय भिरालो भू–बनोट तथा पूर्वी हिमालयको भारी मनसूनी वर्षाले (१००० देखि ४००० मि.मि. प्रतिवर्ष यो निकुञ्ज असाधारण जैविक विविधता तथा जडिबुटी र वनस्पतिहरूको भण्डारको रूपमा रहेको छ ।
निकुञ्जका प्राकृतिक भू–बनौट र भू–भागमा पाइने प्राकृतिक स्रोतहरूलाई दिगो सरंक्षण प्रवर्धन गर्न,स्थानीय बासिन्दालार्इ आवश्यक पर्ने वन पैदावार निरन्तर रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र छुट्याई व्यवस्थापन गर्ने कार्यको थालनी भएको छ । यस राष्ट्रिय निकुञ्जले भोटे, राई, शेर्पा लगायतका जातिहरूको सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणमा पनि योगदान पु¥याएको छ । पर्या–पर्यटनको विकासको क्रममा रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संख्या बढिरहेको छ । तथापि, पर्याप्त आम्दानीको अभावमा मध्यवर्ती क्षेत्रका कार्यक्रमहरूको संचालन त्यति प्रभावकारी रुपमा हुन सकेको छैन ।
४००० मि. भन्दा बढी उँचाइमा रहेका उच्च पहाडी खर्कमा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने सुनपाते, सुगन्धित झारपातहरू तथा जंगली फूलहरू पाइन्छन् । उच्च पहाडी जंगलमा देवदार, भोजपत्र र लालीगुराँस तथा २००० देखि ४००० मि. उँचाइको समशीतोष्ण क्षेत्रमा निगालो, अर्खौलो, फिरफिरे र पूर्वेली चाँप पाइन्छन् । वन्यजन्तुहरूमा मुख्यतः कस्तुरी मृग, हिमाली कालो भालु, हिउँ चितुवा, रातो पाण्डा लगायत ४३१ प्रकारका चराचुरुङ्गीहरू पाइन्छन् । उँचाइ र हावापानीको विविधताको संयोगले गर्दा यो निकुञ्ज विविध किसिमका वनस्पति र वन्यजन्तुको लागि धनी छ । यहाँका प्राकृतिक इकोसिष्टम तथा प्रक्रियाहरू वैज्ञानिक अध्ययन, वातावरणीय निर्देशन, शिक्षा र प्रजनन स्रोतहरूको निर्वाहका लागि महत्वपूर्ण प्राकृतिक सम्पदा हुन् ।