प्रदेश नं. २,३ र ४ काचितवन, मकवानपुर, पर्सा रनवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. रहेको छ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । सन् २००० मा यो राष्ट्रिय निकुञ्ज ५४४ भन्दा बढी एकसिंगे गैंडालाई संरक्षण दिन सक्षम भएको थियो । तर, देशमा चलेको राजनीतिक द्वन्द्वका कारण सुरक्षा नीतिमा केही परिवर्तन भएपछि बढेको चोरी शिकारले गैंडाको संख्या सन् २००५ मा ३७२ वटामाझर्यो । संरक्षणको अथक प्रयासबाट सन् २०११ मा गैंडाको संख्या बढेर ५०३ पुगेकोथियो भने सन् २०१५ मा यो संख्या बढेर ६०५ पुगेको छ।
यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । सन् २०१८ को बाघ गणना अनुसार९३ वटा वयस्क पाटे बाघ यस निकुञ्जमा रहेका छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
वि.सं. २०५३ मा निकुञ्ज वरपरको ७५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधिहरू संचालन भईरहेका छन् । मध्यवर्ती क्षेत्रमा पर्ने बीसहजारी ताललाई सन् २००३ मा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रुपमा सूचीकृत गरिएको छ । यस निकुञ्जले बाल्मीकि आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलहरूको संरक्षण गरी स्थानीय धार्मिक परम्परालाई पनि सँगालेर राखेको छ । स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा सहयोग पु¥याउन प्रत्येक वर्ष कम्तीमा एक हप्ताको लागि खर, ढड्डी आदि संकलन गर्नका लागि राष्ट्रिय निकुञ्ज खुला गरिन्छ । वर्षेनी हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू यस राष्ट्रिय निकुञ्जको भ्रमणमा स्थानीय बासिन्दालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै राजस्व संकलनमा समेत टेवा पुगेको छ ।