स्थापनाः २०५८ साल (सन् २००२)
क्षेत्रफलः १५९ वर्ग कि.मि.
म. क्षे. क्षेत्रफलः ११८.६१ वर्ग कि.मि.
काठमाडौँ शहरबाट नजिक रहेको यो निकुन्ज पूर्वमा चिसापानी देखि पश्चिममा ककनीसम्म फैलिएको छ । शिवपुरी जलाधार क्षेत्रको रूपमा सन् १९८९ मा स्थापित यसको क्षेत्रफल १४४ वर्ग कि.मि. थियो । सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने वि.सं. २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्ग कि.मि. क्षेत्रफल समेटेर १५९ वर्ग कि.मि. क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनाइएको छ ।
यस निकुञ्जको उत्तर दक्षिण चौडाई सरदर ९ कि.मि. र पूर्व–पश्चिम लम्बाई सरदर २० कि.मि. रहेको छ । शिवपुरी शिखरको उचाई २,७३२ मिटर छ । उत्तरी ढलानको सिमाना समुद्र सतहबाट १,००० मिटर र दक्षिणी ढलानको सिमाना १,५०० मिटर उँचाईमा छ । शिवपुरी क्षेत्र काठमाडौंको खानेपानी आपूर्तिको मुख्य स्रोत हो । यस क्षेत्रबाट प्रतिदिन करिब १० लाख घन लिटर पानी उपलब्ध हुन्छ । सुन्दरीजलमा संकलित पानीबाट जलविद्युत् पनि उत्पादन गरिएको छ । शिवपुरीको उत्तरी ढलानमा ठुला नदीनाला नभए पनि स–साना खाले खोल्सा खोल्सीहरु थुप्रै छन् । शिवपुरी क्षेत्रबाट बग्ने नदीनालाको पानी वरपरका गाउँलेहरूले सुक्खा मौसममा खेतीपाती गर्न पनि प्रयोग गर्दछन् ।
शिवपुरीको सम्पूर्ण डाँडा उपोष्ण तथा शीतोष्ण क्षेत्रमा पर्दछ । यहाँको हावापानी, भू–बनोट, माटो तथा जैविक तत्वहरूले गर्दा प्राकृतिक वनको संरचनामा विभिन्नता ल्याएको देखिन्छ । १,८०० मिटरभन्दा तलका दक्षिण मोहडा भएका डाँडाहरूमा खोटे सल्ला तथा चिलाउने कटुसको वन पाइन्छ । तर खोलाका किनार र खोंचमा मुख्य रूपमा उत्तिस प्रजाति पाइन्छ । माथिल्लो भेगमा खस्रु, बाँझ र गुराँसका मिश्रित वन रहेका छन् ।
निकुञ्जको वनजङ्गल पूर्णरूपमा संरक्षण गरिएकोले यहाँ ३१८ किसिमका चरा, १०२ किसिमका पुतली र १२९ किसिमका च्याउ पाइन्छन् । साथै यो निकुञ्ज दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लंगुर लगायत विभिन्न जङ्गली जनावरहरूको आश्रयस्थल हुन पुगेको छ । यस निकुञ्ज अन्तर्गत हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन् । बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन् । नववर्षको प्रारम्भमा उपत्यका तथा वरपरका श्रद्धालुहरू बागमती तथा विष्णुमतीको उद्गमस्थल बागद्वार र विष्णुपादुकामा आई स्नान तथा पूजाआजा गर्दछन् । शिवपुरीको उत्तरी भेगबाट उच्च हिमालको भव्य दृश्य तथा दक्षिण ढलानबाट काठमाडौं उपत्यका देख्न सकिन्छ । हेलम्बु जाने प्रमुख गोरेटो बाटो यस निकुञ्ज क्षेत्रभित्र पर्ने सुन्दरीजल, चिसापानी हुँदै जान्छ ।