नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

अन्नपूर्ण संरक्षण क्षेत्र

No image

स्थापनाः २०४९ साल (सन् १९९२)

 क्षेत्रफलः ७,६२९ वर्ग कि.मि.


यो संरक्षण क्षेत्र  कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको छ । यो नेपालको सबैभन्दा ठूलो (७६२९ वर्ग कि.मि.) र स्थानीय जनताको सहयोग लिई राष्ट्रिय प्रकृति संरक्षण कोषबाट व्यवस्थापन र प्रवद्र्धन गरिएको संरक्षण क्षेत्र हो ।

यसका मुख्य विशेषताहरूमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, धौलागिरी, मनाङ र मुस्ताङ उपत्यकाहरू, गुरुङ र थकाली संस्कृतिहरू, विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग (ट्रेकिंग रुट) आदि हुन् । यस संरक्षण क्षेत्रले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा पैदल यात्रा गर्न आउने विदेशी यात्रुहरूसामु अविस्मरणीय सुन्दर प्राकृतिक दृश्यहरू प्रस्तुत गरी नेपालको पर्यटन उद्योगलाई फस्टाउन ठूलो टेवा पुर्याएको छ । यो संरक्षण क्षेत्र हिउँ चितुवा, कस्तुरी मृग, चिरु, तिब्बतीय गधा, तिब्बतीय खरायो, नाउर जस्ता विभिन्न जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । मुक्तिनाथ र दामोदर कुण्ड जस्ता प्रख्यात धार्मिक क्षेत्र तथा लोमानथाङ जस्ता सांस्कृतिक धरोहर यहाँ अवस्थित छन् ।

नेपालको प्रमुख ट्रेकिङ्ग स्थलको रूपमा यस क्षेत्रको विकासले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुगेको छ । संरक्षण क्षेत्रको अवधारणा अनुरुप एकीकृत संरक्षण तथा सामुदायिक विकासका कार्यक्रमहरू संचालन गरी संरक्षणमा जनसहभागिता जुटाउने कार्यको नमूनाको रूपमा यस संरक्षण क्षेत्रलाई लिन सकिन्छ । पछिल्लो समयमा विकास सँगसँगै वन्यजन्तुको संरक्षण चुनौतीपूर्ण हुँदै गएको र वन पैदावार र जलविद्युतको अत्यधिक मागका कारण व्यवस्थापकीय पक्षमा धेरै खालका सवालहरू सृजना भएको छ ।

 

गूगल नक्शा