राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गत कार्यालयहरुको आ.ब. २०८१/८२ को बार्षिक प्रगति समिक्षा गोष्ठी २०८२ श्रावण २१ र २२ गते बबरमहल स्थित राष्ट्रिय निकुञ्ज विभागको टाइगर हलमा सम्पन्न भएको छ । दुइ दिनसम्म संचालन भएको उक्त गोष्ठीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री ऐनबहादुर शाही ठकुरी रहनु भएको थियो भने विषेश अतिथिको रुपमा वन तथा वातावरण मन्त्रालयका माननीय राज्य मन्त्री रुपा वि.क. रहनु भएको थियो । उद्घाटन कार्यक्रमको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले गर्नु भएको थियो । उक्त गोष्ठीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षणका साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो भने संरक्षित क्षेत्र कार्यालयको तर्फबाट बरिष्ठ प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत, योजना /अनुगमन शाखा र लेखा शाखाका प्रमुखहरुका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेद कुमार ढकालले स्वागत गर्नुका साथै समग्र विभागको प्रगति प्रस्तुत गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा महालेखा परिक्षकको कार्यालयबाट पाल्नु भएका अतिथि निर्देशक श्री नीर प्रसाद सुवेदीले नेपाल लेखा परिक्षण प्रणाली (वेरुजु फर्छ्यौट, संपरिक्षण र लगत कट्टा) बारेमा प्रस्तुति गर्नुका साथै सम्पती शुद्धिकरण विभागबाट पाल्नु भएका अतिथि श्री प्रकाश चन्द्र सापकोटाले सम्पती शुद्धिकरण सम्वन्धी विषयमा प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत श्री मनोज कुमार शाहले गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रम पश्चात संरक्षित कार्यालयहरुले आ-आफ्नो कार्यालयको बार्षिक प्रगति, आइपरेका समस्याहरु, समस्या समाधानका लागि गरेका प्रयासहरु र आगामी दिनका लागि सुझावहरु समेत प्रस्तुत गरि सो उपर छलफल भएको थियो ।