मुनाल चरा ग्यालीफर्मीस अडरको फीजिनिडि परिवार भित्र पर्दछ । भैंमा प्रशस्त बुट्यान सहितको बाँझ/ओक र गुराँसको आद्र सदावहार वन, मिश्रित वन, बाक्लो बुट्यान, निगालोको घारीहरु, चौडापाते तथा सल्लाको जङ्गल आदि बासस्थानमा यो आवासीय चरा हो । यो भिरालो पहाड, समथर भु भाग वा साँघुरा खोंचहरुमा बस्न मन पराउँछ । मुनाल लज्जालु स्वभावको हुन्छ र यो एक्लै अथवा जोडीमा बस्छ । यसले गुराँस तथा चुत्रोको फल तथा फुलहरु, कलिला पात तथा खान योग्य मुना तथा जराहरु खान्छ । यसको अलावा झ्याउ, घाँस, किराफट्यांग्रा, लाइकेन तथा चट्टानको मसिना टुक्राहरु पनि खाने गर्छ । यसको प्रजनन् समय बैशाख देखि असारसम्म र कहिलेकाँहि श्रावणसम्म पनि हुन सक्छ भनी विस्वास गरिएको छ । यसले जमिन वा रुखको हाँगामा गुँड बनाँउछ र एकपटकमा २–३ वटासम्म फुल पार्छ तर पाल्तु मुनालले ४–६ वटासम्म फुल पारेको पनि पाइएको छ । मुनाल नेपाल, भुटान, भारत तथा चीनको दक्षिणी तथा दक्षिणपूर्व तीब्बतको हिमाली क्षेत्रहरुमा पाइन्छ । नेपालमा अति बिरल आबासिय यो चरो प्रजनन् समयमा समुद्रसतहबाट २५०० देखि ३८०० मिटरसम्मको उचाइमा र जाडो मौसममा २१०० मिटर सम्मको उचाइमा रेकर्ड गरिएको छ । यो चरा खप्तड, शे फोक्सुण्डो, लाङटाङ, सगरमाथा र मकालुबरुण राष्ट्रिय निकुञ्जहरु ढोरपाटन शिकार आरक्ष तथा अपि नाम्पा, अन्नपूर्ण, मनास्लु, गौरीशंकर र कञ्चनजंघा संरक्षण क्षेत्रहरुमा अभिलेख गरिएका छ । स्थानीय रुपमा शिकार खेलिनाले र ब्यापारको लागि पक्रनाले पनि यस चराको अस्तित्व संकटमा पर्दै गएको छ । जङ्गलमाथि मानिसको चाप पर्नाले जङ्गलमा अत्याधिक काठ काट्ने, अत्याधिक घाँस दाउरा संकलन गर्ने र अत्याधिक मात्रामा चरिचरण गराउनाले बासस्थान मासिदै एवं टुक्रिदै गएको छ । प्रशस्तमात्रामा निगालोको संकलन गरिनाले पनि यसको बासस्थानमा समस्या देखिएको छ । विश्वमा यस चराको संख्या बीसहजार भन्दा कम अनुमान गरिएको छ । नेपालमा यसको संख्या एकहजार भन्दा कम अनुमान गरिएको छ । विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाइ खतराको सूचीको नजिक पुगेको जनाएको तर क्षेत्रगत रुपमा यसको संख्या घट्दै गएको देखिएकोले नेपालमा यसलाई खतराको सूचीभित्र vulnerable वर्गमा राखिएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ द्धारा अनुसूची १ मा राखी संरक्षित गरिएको छ । नेपालको लागि यो पंक्षी साइटिस अनुसूची ३ मा सूचीकृत छ ।
थप जानकारिका लागि:- Inskipp et al. 2016.