स्थापनाः २०५५ साल (सन् १९९८)
क्षेत्रफलः १,६६३ वर्ग कि.मि.
पश्चिमाञ्चल विकास क्षेत्रको गोरखा र मनाङ जिल्लामा रहेको यो संरक्षण क्षेत्र उत्तरमा मित्रराष्ट्र चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ । यो क्षेत्र ई.सं. १९९१ पछि मात्र विदेशीहरूका लागि खुला गरिएको हो । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतीर भई लार्के भञ्ज्याङ (५१०६ मि.) नाघेर करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको उँचाइ ६०० मि. देखि संसारको आठौं अग्लो चुचुरो (८,१६३ मि.) मनास्लुसम्म फैलिएको छ । यसको क्षेत्रफल १,६६३ वर्ग कि.मि. रहेको छ, जस अन्तर्गत ७ वटा गा.वि.स. रहेका छन् ।
अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा करिब ७,००० स्थानीय गुरुङ (भोटिया) जातिहरूको बस्ती रहेको छ । उनीहरूको रहनसहन तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ भने मुख्य पेशा पशुपालन तथा कृषिमा आधारित छ । हिउँदे मौसममा उनीहरू कामको खोजीमा तल्लो क्षेत्रमा झर्ने गर्दछन । यस संरक्षण क्षेत्रमा करिब २९ प्रजातिका स्तनधारी जन्तुहरू जस्तै– हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब ११० प्रकारका चराहरू र ३ प्रकारका सर्पजातिहरू एवं २०० भन्दा बढी हिमाली वनस्पतिहरू पाइन्छन् |