नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

११औं अन्तराष्‍ट्रिय हिउँ चितुवा दिवस- २०८१ कार्तिक ७ (सन् २०२४ अक्टोवर, २३) | राष्ट्रिय संरक्षण दिवस २०८१ ( ७ असोज २०८१) सम्पन्न | विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024)

अपी नम्पा संरक्षण क्षेत्र

No image

स्थापनाः २०६७ साल (सन् २०१०) 

क्षेत्रफलः १,९०३ वर्ग कि.मि.


प्रदेश नं. ७ को  दार्चुला जिल्लामा पर्ने अपि नाम्पा सरंक्षण क्षेत्रको पूर्वमा बझाङ जिल्ला, पश्चिममा महाकाली नदी उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेका छन् । नेपाल सरकारले २०६७ आषाढ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यस संरक्षण क्षेत्रको स्थापना गरेको हो । वातावरण सुधारमा उल्लेखनीय योगदान पु-याउने, प्राकृतिक स्रोत र जडीबुटीको संरक्षण तथा उपयोग गर्ने र पर्या–पर्यटन विकास गरी विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी क्षेत्रका २१ गा.वि.स. को समुच्च विकास गर्ने उद्देश्यले यस संरक्षण क्षेत्रको स्थापना गरिएको हो । २०६६ मंसिर १६ गते जलवायु परिवर्तनको सम्बन्धमा विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । सोही बैठकले यो संरक्षण क्षेत्रको घोषणा गरेको हो ।


अपि नाम्पा संरक्षण क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्तै महत्वपूर्ण र भरिपूर्ण छ । यस क्षेत्रमा अपि हिमाल (७,१३२ मि.), नाम्पा हिमाल (६,७५७ मि.), व्यास हिमाल (६,६७० मि.) लगायत धेरै उच्च हिम शिखरहरू छन् । यस संरक्षण क्षेत्रको उचाई समुद्री सतहबाट ५३९ देखि ७,१३२ मिटरसम्म छ । भारत महादेश (Indian Plate) को उत्तरी किनारा तिब्बत महादेश (Chinese Plate) संग ठोकिने क्रम अझै पनि जारी भएकोले यहाँका भू–भागहरू भिराला र गतिशील छन् । यहाँ सिस्ट, चुनढुंगा र सेडिमेण्ट जस्ता चट्टानहरू हुनाले वर्षातको समयमा पहिरो जाने प्रकृतिको भू–आकृति रहेको छ । यस क्षेत्रमा ग्रेनाइट , पेगमेटाइट , फाइलाइट  र क्वारजाइट  चटृानहरू पनि पाइन्छन् । यस क्षेत्रमा हिँउ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थार लगायतका वन्यजन्तहुरू पाइन्छन । यस्तै डाँफे , चीर, चिल, च्याखरु , हलसे , भ्याकुर लगायत २०० भन्दा बढी चराका प्रजातिहरू पाइन्छन् । साल, खयर, सिसौ, उत्तिस, बाँझ, गुराँस, गोब्रे सल्ला, कोलिनियल खस्रु लगायत विभिन्न किसिमका वनले यो संरक्षण क्षेत्र रमणीय बनेको छ |

थप जानकारीको लागि:http://ancadarchula.gov.np/en/

गूगल नक्शा