स्थापनाः २०३२ साल (सन् १९७६)
म. क्षे. स्थापनाः २०५८ साल (सन् २००२)
क्षेत्रफलः १,१४८ वर्ग कि.मि.
म. क्षे. क्षेत्रफलः २७५ वर्ग कि.मि.
पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.) लाई समेटेर फैलिएको छ । यसैगरी ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका प्राकृतिक गहना हुन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन ।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ भने मध्यवर्ती क्षेत्रको घोषणाबाट निकुञ्ज भित्र र वरपरका तीन गा.वि.स. का जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ ।